
जनकपुरधाम, २ साउन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गते नै नगरसभा गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ तर मधेस प्रदेशका अधिकांश स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । कतिपयले आन्तरिक विवादका कारण सभामा ल्याइसकेको बजेट पारित गर्न सकेको छैनन् ।
मधेस प्रदेशको आठ वटा जिल्लामा १ सय ३६ स्थानीय तह छन् । जसमध्ये ७५ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् भने ६१ स्थानीय तहले अझै बजेट नगरसभा÷गाउँसभामा पेस गरेका छैनन् । असार १० गते नगरसभा गाउँसभामा पेस गरेर असार २५ गतेभित्र पारित गरिसक्नुपर्नेमा असारमसान्तसम्म पनि ५६ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । सप्तरीका १८ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहले मात्र बजेट नगरसभा÷गाउँसभा गरी बजेट पेस गरेका छन् ।
