काठमाडौं, ३ साउन । काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माविले देशैभरका विद्यालयसँग भगिनी सम्बन्ध स्थापित गर्दैछ ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले कहिले आफूहरु गएर त कहिले आफूहरुको विद्यालयमा आएर दुई विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गर्दै गरेको बताए । प्रधानाध्यापक कडेल नेतृत्वको समूहले पटक पटक विभिन्न जिल्लाका विद्यालय पुगेर त्यहाँ भएका शैक्षिक गुणस्तरका बारेमा जानकारी लिँदै आएको छ ।

आफ्ना विद्यालयमा अवलम्बन गरिएका असल अभ्यासहरु आदानप्रदान गर्ने क्रममा हिजो विश्व निकेतनले झापाको कमल गाउँपालिकाका शिक्षा विभाग प्रमुख सुर्यप्रसाद न्यौपाने, गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सहिद धर्मभक्त माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडा र प्रधानाध्यापक मधुसूदन अधिकारीलाई विद्यालयमा स्वागत गरेको थियो । प्रधानाध्यापक कडेलले दुई विद्यालयमा भएका राम्रा अभ्यासबारे छलफल भएको बताए । झापाबाट आएको टोलीले सोमबार सभामुख देवराज घिमिरेसँग पनि भेट गरेको थियो ।