
काठमाडौं, साउन ३ । नेपाली कांग्रेस केन्द्रीय सदस्य राधा घलेले पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको विरुद्धमा पार्टीभित्रकै नेताहरु लागेको आरोप लगाएकी छिन् ।
केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा घलेले आज आरोप लाग्नेबित्तिकै व्यक्ति दोषी हुन नसक्ने भन्दै खाँणको बचाउ गरेकी हुन् । केन्द्रीय समिति बैठक हिजोदेखि सुरु भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको आरोपमा खाँण पक्राउ परेका छन् । खाणको बारेमा तत्काल कुनै निर्णय नगरिएको भन्दै कांग्रेसमा संस्थापनइतर पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ । खाण देउवा पक्षका नेता हुन् ।
खाणको बचाउ गर्दै घलेले पार्टीको नेता पक्राउ पर्दा आफ्नै हाम्रै पार्टीका साथीहरु संवेदनशील नभएको आरोपसमेत लगाइन् । एउटाले खाएको बाघले अर्कोलाई पनि खान सक्ने भन्दै पार्टी नेताहरु खाँणका विरुद्धमा नलाग्न घलेले सुझाव दिइन् । घलेले भनिन्, ‘आरोप लाग्नेबित्तिकै कोही पनि दोषी भइहाल्दैन, जबसम्म दोषी सावित हुन सक्दैन ।’ घलेले यसो भन्दा उनको आलोचना भएको छ ।
