काठमाडौं, साउन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सरकार निर्माणको विषयमा दिएको अभिव्यक्ति विवादित भएको भन्दै संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध नै गर्यो ।

प्रधानमन्त्री तथा उनको सचिवालयले भनें विवादित अभिव्यक्ति नदिएको तर त्यसलाई अतिरञ्जित गरिएको भन्दै स्पष्ट पारेको थियो । प्रधानमन्त्रीले भारतले नै आफूलाई प्रधानमन्त्री बनाएको भन्ने अभिव्यक्ति दिएकाले नेपाल र नेपालीको साथै नेपालको संसदको अवमूल्यन भएको एमालेको ठहर थियो । एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ मागेको थियो । प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भनेर एमालेले भने पनि अन्तिममा आएर भनें एमाले संसद अवरोध गर्नबाट पछि हटेको थियो । संसदको अवरोध हुनुपर्ने कारण प्रष्टै भए पनि के सहमतिमा संसद खुल्यो भन्ने एमालेले प्रष्ट नै पार्न सकेन ।
पछिल्लो समयमा आएर एमालेले कुनै सामान्य विषयमा नै संसद अवरोध गर्ने गरेको छ । अरु विषय नभएकाले उसले गरेको यस प्रकारको अवरोधलाई संसदीय जानकारले गलत भएको बताएका छन् । एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साथ दिँदै आएका छन् । त्यतिमात्र होइन अरु दुइवटा पार्टीले संसद अवरोध गर्दा पनि एमालेको समर्थन रहने गरेको छ ।

नेताहरुबीच ठूलाठूला कुरामा आपसी सहमति हुने गरेको छ । पार्टीका प्रमुख नेताहरुले सांसद र अरुलाई उचालेर आफ्नो एजेण्डा स्थापित गर्ने प्रयास गरेका हुन्छन् तर प्रमुख नेताहरुको मिलेमतो र आपसी समझादारी भएपछि विषयवस्तु ओझेलमा पर्ने गर्दछ । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पनि यस्तै विषय भएको छ, पार्टीले विरोध गर्नुपर्छ भन्यो पार्टीका सांसद र अरुले विरोध गरे । ल अब भइगयो मिल्यो कुरा भनेर नेताहरुले भनें अनि सबै चुप लागे तर भएको के हो र सहमति के भयो भन्ने कसैले पनि थाहा पाएनन् । यसमा ओली र दाहालको स्वार्थ भनें पूरा भएको छ ।