
काठमाडौं, साउन ४ । गणतन्त्र आएपछि जनताले राहत पाउँछन् र परिवर्तन हुन्छ भन्ने अभिव्यक्तिका दिएका दलहरु अहिले आफैं हैरान भएका छन् ।
हिजोका दिनमा गणतन्त्रले देशको मुहार फेरिन्छ भनेर मानिसलाई गणतान्त्रिक आन्दोलनमा सहभागी गराएका उनीहरुले गणतन्त्र स्थापना भएको १६ वर्षमा जनताको जिवनमा के परिवर्तन आयो भनेर भन्न सकेका छैनन् । गणतन्त्रको आन्दोलनमा कतिको मृत्यु भयो भनें कति अंगभंग पनि भए तर उनीहरुको कसैले पनि वास्ता गरेको छैन । नेताहरु सधैं जनताको नाम बेचेर राजनीति गर्छन् भन्ने विभिन्न घटनाले प्रमाणित गरिदिएको छ । गणतन्त्रपछि संविधान बन्छ र जनताको हकअधिकार स्थापित हुन्छ भनेर ढाँट्ने नेताहरु अहिले संविधान बनिसकेपछि फेरि अर्को केही होला भनेर अल्मल्याउन थालेका छन् ।
राजतन्त्र देशको लागि घातक भयो, राजतन्त्र हुँदा देशको ढुकुटी बढी खर्च भयो, राजाले विलासी जिवन बिताए भनेर आलोचना गर्नेहरु अहिले आएर बरु राजतन्त्र नै ठिक रहेछ भन्न थालेका छन् । संघीयतामा जाँदा देश विभाजन भएको र विभिन्न वहानामा सरकारी खर्चको दुरुपयोग भएको कुरा जान्नेबुझ्नेहरुलाई मन परेको छैन । हिजो राजा एउटा थिए, उनको खर्च सामान्य थियो तर अहिले देशमा ८ सय ८४ सांसद् छन् उनीहरुको खर्च कहालीलाग्दो छ । फेरि जातजाति र भाषाभाषी र भूगोलको नाममा मानिसलाई विभाजित गरिनु पनि अर्को दुर्भाग्य बनेको छ ।
राजसंस्थाका पक्षमा रहेकाहरुले अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । उनीहरु भित्रभित्रै रुपमा संगठित भएर देशको निकासका लागि के गर्न सकिन्छ भन्ने छलफलमा व्यस्त छन् । पार्टीका मान्छेहरुले आमसभा वा जुलुसमा मानिसहरु भाडामा किनेर ल्याउनुपरेको छ तर राजसंस्थाप्रतिको कुनै कार्यक्रम हुँदा मानिसको घुँइचो हुने गरेको छ । यसले पनि राजसंस्था र राजतन्त्रको अझै पनि महत्व झनै बढ्दै गएको पुुष्टि भएको छ । त्यतिमात्र होइन गणतन्त्रवादी भनाउनेले राजसंस्थाप्रतिको कार्यक्रमलाई हुन नदिने पनि गरेका छन् । त्यो कार्यक्रममा मानिसहरुको सहभागिता बढी भयो आफूहरुलाई असर पर्ने भएकाले अहिले गणतन्त्रवादीहरु निकै ठूलो तनावमा रहेका छन् ।
