काठमाडौं, साउन ४ । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मिनेबित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । यसका लागि गाउँपालिकाले खाता खोलिदिने छ ।
गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई ५ हजार रुपिँया उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर के.सी.ले जानकारी दिए । उनले यो अभियान सकारात्मक रहेकाले भोलिका दिनमा यसलाई थप व्यवस्थित गर्दै लैजान सकिने बताए ।

बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । प्रमुख प्रशासकीय अधिकृत के.सी.ले भने ‘ खाता खोल्दा अभिभावकले पनि ५ हजार जम्मा गर्दा १० हजार रुपिँया जम्मा गर्नुहुन्छ, बीचमा अभिभावकले पैसा थप जम्मा गर्दै जान सकिने भएकाले २० वर्षसम्म जम्मा भएको रकमले ठूलै काम गर्न सकिन्छ भन्ने हाम्रो बुझाई हो ।’

‘छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौं’ उपाध्यक्ष डाँगीले भने । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।