
काठमाडौं, साउन ४ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेको जानकारी राष्ट्रियसभामा गराइएको छ ।
आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन् । संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ । प्रमाणीकरणका लागि प्रतिनिधिसभाका सभामुखले राष्ट्रपतिकहाँ पठाउनुपर्ने व्यवस्था छ ।
