
सिन्धुली , साउन ४ । सिन्धुलीमा गढी प्रहरी चौकी उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कमा नवनिर्मित प्रहरी चौकी भवनको वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको करसहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको हो । प्रहरी चौकी उद्घाटन गर्दैै मन्त्री श्रेष्ठले वागमती प्रदेशको विभिन्न जिल्लाहरुमा ५ वटा प्रहरी भवन निर्माणअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिकाको खाङसाङमा प्रहरी चौकी भवन निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।
प्रहरी भवन निर्माणको लागि प्रदेश सकारकारले झण्डै १ अर्ब ११ करोड बराबर लगानी गरिसकेको बताउँदै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षमा प्रदेश प्रहरी अस्पताल निर्माणको लागि प्रदेशको राजधानी हेटौंडामा ३ करोड बजेट बिनियोजन भएको बताए । साथै क्रमागत रुपमा निर्माण भइरहेका २१ वटा प्रहरी चौकी भवन निर्माणको लागि चालु आर्थिक वर्षमा ३० करोडभन्दा बढी बजेट बिनियोजन गरिएको जानकारी दिए । प्रदेशका विभिन्न जिल्लाको प्रहरी भवनको निरीक्षण गर्दा प्रहरीहरु अहिले पनि जस्तापाताले बेरेकोे झुप्रोहरुमा बसिरहेको मन्त्री श्रेष्ठको भनाई छ । देशमा आर्थिक संकटको कारण प्रहरी चौकी भवनको आवश्यकता महसुश भए पनि बजेट बिनियोजन गर्न नसकिएको मन्त्री श्रेष्ठले गुनासो गरेका छन् ।
वीपी राजमार्गको चियाबारी–खुर्कोट सडक खण्डमा दिनहुँ दुर्घटना हुने भएकाले उद्धारको लागि सतर्क रहन साथै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्क रहन मन्त्री श्रेष्ठले आग्रह गरेका छन् । प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । कानुनमन्त्री श्रेष्ठले प्रहरी समायोजन ऐन संसदले पारित गरिसके पनि प्रहरी समायोजन नेपाल सरकारले नगरेको भन्दै तुरुन्त प्रहरी समायोजन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।
ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले कब्जा गरेपछि सो चौकी पछिल्लो समयमा खनियाखर्कमा स्थानान्तरण गरिएको थियो । कानुनमन्त्री श्रेष्ठ चौकी कब्जा गर्दाका एक कमाण्डर थिए । तर चौकीको आफ्नो भौतिक संरचना थिएन । हाल वागमती प्रदेश सरकारको लागतमा गढी प्रहरी चौकी भवन निर्माण भएको हो । मन्त्री श्रेष्ठ सिन्धुलीबाट निर्वाचित प्रदेश सांसद् हुन् ।
