
काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् ।
आज राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसले जस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती दिए । ‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ, यो कम्युनिस्टहरुलाई चुनौती हो, कम्युनिष्टहरु हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं ?’ गौतमले प्रश्न भने ।
उनले भने, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गोप्य रुपमा निर्णय गर्नुपर्ने कुनै विषय छैन ।’ २ साउन २ बाट सुरु भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ । बैठकमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।
