काठमाडौं, साउन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज साँझ इटाली प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीपुत्री गंगा दाहाल पनि इटली गएका छन् । प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् ।

आज साँझ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको जनाइएको छ ।