काठमाडौं । झापाको कमल गाउँपालिका ७ की ४२ सृजना वस्नेतको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

उनी केही दिनदेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत छिन् । ब्लड क्यान्सबाट पीडित उनको बेड नम्बर ५ मा उपचार भइरहेको छ । उनको उपचारमा समस्या भएपछि परिवार र आफन्तले सहयोगको आग्रह गरेका छन् । काठमाडौं बसेर विभिन्न पेशा, व्यवसाय गर्दै आएकाहरुले एउटा समिति नै बनाएर सहयोग संकलन गर्दै आएका छन् । काठमाडौमा कन्सल्टेन्सी व्यवसाय गर्दै आएका अनिल शर्माले सबैको सहयोगबाट एक लाख रुपिँयाजति उठाएर विरामीको परिवारलाई दिइएको बताए । ‘यो सबैको समस्याजस्तो सम्झेर नै हामीले सक्रियता देखाएका हौं’ उनले भने ‘विरामी र उहाँको परिवारलाई अझै पनि संकट छ, एकलाई पर्दा अर्कोले सहयोग गर्नु मानवीय धर्म नै हो ।’

स्थानीय रोशन नेम्वाङले फेसबुक स्टाटस लेखेर नै सहयोगको आग्रह गरेका छन् । उनले अहिलेसम्म सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद दिएका छन् । कमल गाउँपालिकाको निहारिका बोडिङ स्कुलका विद्यार्थीले पनि उपचारका लागि आर्थिक सहयोग गरेको पनि नेम्वाङले सामाजिक सञ्जालमा नै जनाएका छन् । कसैले थप सहयोग गरे आफूहरुको बिरामीको उपचारमा सहज हुने आशा गरेको परिवारले सहयोग गर्ने दयालु मनहरुका लागि बैंक खाता पनि सार्वजनिक गरेको छ । बिरामीको नाममा नै एनआइसी बैंकमा ०२६५७५१५०८५६००१ नम्बरको खाता खोलिएको छ ।

काठमाडौमा सृजनाको उपचारका लागि आर्थिक संकलन गर्ने काममा सक्रियता देखाएका अर्जुन वस्नेतले बिरामीको परिवारको अवस्था कमजोर भएकाले अभियान चलाउनुपरेको बताए । ‘हामीले कुनै क्षेत्र र भेग नभनी यस्तो बेलामा सहयोग गर्नुपर्छ’ उनले भने ‘हामीले केही सहयोग गर्दा बिरामीको उपचार हुन्छ भने गरौं भनेर लागिरहेका छौैं ।’