काठमाडौं, साउन ८ । गत वैशाख १० गते वारा –२ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन जिते । उनीसँग जनमत पार्टीका उम्मेदवार शिवचन्दप्र्रसाद कुशवाहको मुख्य प्रतिस्पर्धा रहेको थियो ।

कुशवाह यसअघि नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार भएका थिए । यो क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो स्थान रिक्त भएको थियो । उपेन्द्रलाई सत्ता गठबन्धनको सहयोग थियो भनें कुशवाहलाई अरु पार्टीले सहयोग गरेका थिएनन् । उपेन्द्र गत मंसिर ४ गते भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी–२ बाट नराम्ररी पराजित भएका थिए । आफू सांसद हुनैपर्ने भएपछि उपेन्द्रले सत्ता गठबन्धनसँग ‘वार्गेनिङ’ गरेर उपराष्ट्रपति मागेका थिए । सप्तरी –२ मा जनमतले प्रदेशका दुइवटा क्षेत्र पनि जितेको थियो । उपेन्द्रले उपनिर्वाचनमा उम्मेदवार भइरहँदा आफू सांसद जितेर मन्त्री नहुने बताएका थिए । उनले त्यतिबेला पार्टीको काममा मात्र आफू लाग्ने बताएका थिए । उनको भनाई सत्य हो कि चुनाबी नारामात्र हो भनेर मानिसले अझै पनि शंका गरिरहेका छन् ।

जनमत पार्टीले भर्खरैमात्र कुशवाहलाई कारबाही गरेको छ । कुशवाहले भनें पार्टीले कारबाहीको गर्नुको कुनै अर्थ नभएको बताएका छन् । उनले आफूले त्यो पार्टीको सदस्यतासमेत नलिएको स्पष्ट पारेका छन् । उनले आफू उम्मेदवारमात्र भएको जनाएका छन् । जान्नेबुझ्नेहरु कुशवाहले प्रशस्तै मात्रामा खर्च गर्न नसकेर पनि निर्वाचनमा पराजय भोग्नुपरेको बताएका छन् । पार्टीलाई यो निर्वाचनमा आएको पैसा राउतले आफैं राखेको र मतदातासँग नपुगेकोले चुनावमा असर परेको जनाइएको छ । ‘राउतले पैसा आफैं राखे उता कुशवाहले भनें आवश्यक पर्ने खर्चसमेत गर्न सकेनन्’ स्रोत भन्छ ‘स्पेशल ठाउँबाट निर्वाचन जिताउन ठूलो पैसा आएको थियो तर राउतले आफैं पैसा कुम्लाए ।’

पटक पटक उपप्रधानमन्त्री भइसकेका उपेन्द्र यादव राजनीतिका कुशल खेलाडीका रुपमा चिनिन्छन् ।