
काठमाडौं । काठमाडौंको बागबजारमा रहेको ओएसिस अब्रोड स्टडी सर्भिसेस एण्ड कन्सल्टेन्सीले स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्मान गरेको छ ।
केही दिनअघि ओएसिसको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी रेश्मा राजथलाले उनीहरुलाई सम्मान गरेकी हुन् ।
ओएसिसकी इन्टरनेशनल रिलेशन डाइरेक्टर राजथलाले विजयी भएकाहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताइन् । उनीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । ‘मैले केही अप्ठ्यारो नमानी जित्नेहरुलाई बधाई दिएँ, खादा लगाइदिएँ र संस्थाको हितमा अझै बढी जिम्मेवार बन्न आग्रह गरें’ उनले भनिन् ‘मैले उपाध्यक्षमा जित्न सकिन त्यो एउटा पाटो भयो तर संस्थाको लागि बाहिरबाट म निरन्तर लागिरहने छु ।’ उनले आफू पराजित भए पनि एजेण्डा पराजित नभएको बताएकी छिन् ।
गत असार २३ गते भएको १२ औं साधारणसभासँगै भएको निर्वाचनबाट दुई वर्षका लागि राजु निरौला अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनमा पराजित भए पनि उनले अन्तिम समयसम्म बसेर निर्वाचित सबैलाई बधाई दिएर असल संस्कारको सुरुवात गरेकी थिइन् । उनको यो कामको त्यतिबेला नै प्रशंसा भएको थियो ।
राजथलाले आफ्ना सम्पूर्ण प्रतिस्पर्धीसँग सौहाद्रपूर्ण वातावरण कायम गर्न पनि सम्मान गरिएको बताइन् ।
‘निर्वाचनमा जाँदा प्रतिस्पर्धीबीच केही बेमेल हुन सक्छ, भरसक मैले नै जित्न पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ तर निर्वाचनको परिणामलाई स्विकारेको छु’ उनले भनिन् ‘अरु साथीहरु प्यानल नै बनाएर गए, मैले व्यवसायिक हकहितको लागि एक्लै भए पनि केही गर्छु भन्ने सोच बनाएँ र प्रतिस्पर्धा गरें ।’ उनी पराजित भएकोमा कुनै पछुतो नलागेको बताउँछिन् । उनले फेसबुकमा स्टाटस लेख्दै निर्वाचित हुने सबैलाई बधाई र आफूलाई निर्वाचनमा सहयोग गर्नेलाई धन्यवादसमेत दिएकी छिन् ।
सम्मान तथा बधाई कार्यक्रममा स्वागत गर्दै ओएसिसका प्रबन्ध निर्देशक राम थापाले फेकन कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए ।
उनले निर्वाचन प्रक्रियामा संस्थामा केही असन्तुष्टिको आवाज सुनिएको भन्दै सबैलाई समेटेर लान नयाँ नेतृत्वलाई आग्रह गरे ।
फेकनका महासचिव छविन्द्र ओझाले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा ओएसिसलाई धन्यवाद दिए । उनले आफूहरू जटिल अवस्थामा रहेको हुँदा काम गरेर देखाउने बताए । महासचिव ओझाले प्राप्त सुझावहरूलाई मनन गरेर संस्थागत हितका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
फेकनका कोषाध्यक्ष दिपेन्द्र पोखरेलले पनि सिर्जनात्मक कार्यक्रम गरेर नयाँ कार्यसमितिलाई काम गर्न हौसला प्रदान गरेको भन्दै ओएसिसप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सम्मान लिँदै फेकनका अध्यक्ष निरौलाले सम्मानका लागि ओएसिसलाई धन्यवाद दिए । उनले सम्मानबाट आफूलाई थप जिम्मेवारी थपिएको पनि बताए । आफ्नो कार्यसमितिका अगाडि थुप्रै चुनौतीहरू रहेको भन्दै अध्यक्ष निरौलाले परामर्श व्यवसायीहरूको हितमा काम गर्न सकेको दिनमात्रै आफूहरू वास्तविक सम्मानको हकदार हुने बताए । आगामी असोजसम्म विधान अधिवेशन गरेर हाल देखिएका चुनौती समाधान गरिने अध्यक्ष निरौलाले प्रतिबद्धता व्यक्त गरे । निरौलाले निर्वाचनमा आफूहरुसँग प्रतिस्पर्धा गर्ने सबै व्यवसायीहरूलाई समेत सँगै लिएर अघि बढ्ने आफ्नो चाहना रहेको बताए ।
ओएसिसका सल्लाहकार नारायण राजथलाले कार्यक्रम सञ्चालन गरेका थिए । उनले कम्तीमा तिन वर्षे कार्यकाल बनाए प्रभावकारी काम हुन सक्ने भन्दै विधान संशोधन गर्दा त्यसमा ध्यान दिन सुझाए ।ओएसिसकी अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक राजथलाले आफूहरूको निमन्त्रणा स्वीकारेर उपस्थित भएकाहरुप्रति आभार व्यक्त गरिन् । उनले आफू कार्यसमिति भित्र नरहे पनि सधैं फेकनको साथमा रहने प्रतिबद्धता जनाइन् । उनले आफू उपाध्यक्षमा पराजित भए पनि राम्रा कामका लागि सधैं कार्यसमितिको साथमा रहने र बाटो बिराए आलोचना गर्ने बताइन् । उनले निर्वाचनमा असन्तुष्ट पक्षलाई मिलाएर लान कार्यसमितिलाई सुझाव दिइन् ।
१६ वर्षदेखि विद्यार्थीलाई सही शैक्षिक परामर्श दिँदै आएको ओएसिसले क्यानडा, अष्ट्रेलिया, यूएसए, यूकेलगायतका देशमा विद्यार्थीलाई उच्च शिक्षाको लागि पठाउँदै आएको छ ।
