काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ योसहित तेस्रो पटक नेपालको प्रधानमन्त्री भएका छन् । हिजोका दिनमा जनताको पक्षमा काम गर्न नसकेको भनेर आलोचना खेपेका प्रचण्डले यसपालि भनें केही काम गरेर पुरानो कमीकमजोरीलाई चोख्याउने र आफू शुद्ध हुने प्रयास गरिरहेका छन् ।

प्रचण्डले राजनीतिमा अनेक ठक्कर पनि खाएका छन् । आफ्नो पार्टी एक्लै कुनै पनि चुनाबमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि बाध्यताले अरुको साथ लिनुपरेको छ । प्रचण्डको पार्टी संसदमा तेस्रो शक्ति भएकाले प्रचण्डले जे चाहयो त्यही हुने गरेकाले पनि प्रचण्डको भाउ बढेको छ । प्रचण्डको सहभागिताबिना सरकार बन्ने सम्भावना कम हुँदै गएपछि उनले आफ्नो र आफ्नो पार्टीको मूल्य धेरै तोकेका छन् । उनले अरु पार्टीलाई खोज्नुपर्ने भन्दा पनि उनलाई नै अरुले अनिवार्य रुपले खोज्नुपर्ने बेला भएको छ । आफूलाई सरकार सञ्चालनमा असहज अवस्था आउँदा उनी बोल्ने पनि गरेका छन् । हिजोका दिनमा बीचबीचमा जथाभावी अभिव्यक्ति दिने र विवादित भएपछि आफूले भनेको होइन भन्ने उनको स्वभावमा पनि केही सुधार आएको छ ।

संसदमा तेस्रो पार्टी भएर पनि प्रधानमन्त्री हुन पाएका प्रचण्ड नेपालका कम्युनिष्ट नेतामध्ये भाग्यमानी नै मानिन्छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा पार्टी अत्यन्तै कमजोर भए पनि प्रचण्डको बठ्याँइले नै उनी प्रधानमन्त्री बन्न पुगे । कांग्रेसले प्रधानमन्त्री नदिने मानसिकता बनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग साँठगाँठ गर्न पुगेका प्रचण्ड अन्ततः सफल भएर नै छोडे । प्रचण्ड र ओलीबीचको द्धन्द्धका कारण एमालेले सरकार छोडेसँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि कांग्रेसलाई चिठ्ठा परेको छ । केन्द्र र प्रदेशमा पनि कमजोर भइसकेको कांग्रेसले पुनर्जीवन पाएपछि कांग्रेसी पनि उत्साहित भएका छन् । कांग्रेसलाई पनि ओलीको नेतृत्वमा सरकार बन्नुभन्दा प्रचण्डलाई नै प्रधानमन्त्री मान्न सजिलो भएको छ । प्रचण्ड सरकारले केही राम्रो काम गर्न थालेपछि उनी र सरकारको चर्चा भएको छ । भ्रष्टाचारलाई नियन्त्रण गर्ने र भ्रष्टाचारीलाई कारबाही गर्छु भन्ने प्रचण्डको भनाइले सार्थकता पाएको महसुश गर्न सकिन्छ । के प्रचण्डले भनेजस्तै उनले भोलिका दिनमा पनि यस्तै काम गर्छन् कि आफ्नो अभियानबाट ‘ब्याक’ हुन्छन् भन्ने प्रश्नचाहिँ ताजै छ ।

प्रचण्ड एक्लैले गरेर मात्र केही हुँदैन । सबै पार्टीको समर्थनको सरकार भए पनि सबैजसो मन्त्रीमा केही गरौं भन्ने सोच भएकाले नै प्रचण्डको उचाई बढेको भन्न सजिलै सकिन्छ । प्रचण्डको कामबाट खासगरी नेकपा एमाले भनें रिसाएको छ । पछिल्लो समयमा कमजोर भएको एमालेलाई प्रचण्ड चुनौती बन्दै गएका छन् । भोलिको निर्वाचनमा आफ्नो पार्टीलाई राम्रो मत आउने गरी प्रचण्डले काम गरेको भनेर विश्लेषण पनि गरिँदै आइएको छ ।