काठमाडौ. । नेपाली कांग्रेसकी केन्द्रीय समितिको बैठकमा महामन्त्रीमाथि नै प्रश्न उठाइएको छ । कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा पार्टिभित्र आफूलाई परिवर्तनकारी नेताका रुपमा दाबी गर्दैै आएका छन् । बैठक बुधबार सकिँदैछ ।

यतिमात्र होइन उनीहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति पनि पटक पटक प्रश्न उठाएका छन् । यो महाधिवेशनमा उनीहरु फरक समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए । सभापतिका उम्मेदवार देउवासँगै रहेका शर्माले त्यो पक्षबाट टिकट नपाएपछि सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको पक्षमा जानुपरेको थियो भनें थापा सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार भएका थिए । केही दिनअघि महामन्त्रीले आयोजना गरेको जिल्ला सभापतिको भेलालाई लिएर पनि उनीहरुमाथि देउवा पक्षधरले आलोचना गरेका छन् । भेलामा सहभागीहरुले भनें सभापति देउवा बैठकमा उपस्थित नभएको भन्दै विरोध गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकमा देउवा नगएपछि उनलाई भेट्न नेताहरु देउवा निवास धुम्बाराही पुगेका थिए ।

देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेकी सुनसरीकी लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइन् । पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनिन्, महामन्त्रीद्वयले पनि दायरा फराकिलो बनाउनुपर्छ, जसरी तपाईहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउँछ, हेक्का राख्नुहोस् ।’ खासगरी महामन्त्री गगन थापा नेतृत्वको विकल्प खोज्नुपर्ने भन्दै आएका छन् । थापा के चर्चा हुन्छ र आफूले के बोल्दा मिडिया कभर हुन्छ भन्ने बुझेका नेतामध्ये नै पर्छन् ।