काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् ।
पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् । नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजेट शपथ हुने जानकारी दिए। नाउपाबाट संघीय सरकारमा अध्यक्ष रञ्जिता श्रेष्ठ भूमिसुधार तथा व्यवस्थामन्त्री रहेकी छिन् ।
यहाँ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि मन्त्री छैनन् । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि मन्त्रालय मन्त्रीविहीन भएको हो । सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमलबहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । आजै नाम टुङ्ग्याएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ । नेपाली कांग्रेस स्रोतका अनुसार बैतडीबाट सांसद भएका शिवराज भट्टको नाम चर्चामा रहेको छ ।