डिलकुमारी नेपाल
साउन ९, भरतपुर । बजार अनुगमनका क्रममा भरतपुर महानगरपालिकाको टोलीले ठूलो मात्रामा अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १० को हाकिमचोकमा रहेको आरसी किरानामा १० वर्षभन्दा बढी पुराना सामान भेटिएपछि म्याद गुज्रेका वस्तु नियन्त्रणमा लिएर नष्ट गरेको हो । सोमबार होटल तथा चमेना गृहहरुको अनुगमन गर्दै जाने क्रममा उपभोक्ताबाटै आरसी किरानाले म्याद गुज्रिसकेका सामान बिक्री गरेको गुनासो गर्न आएपछि अनुगमनको टोली आरसी किरानामै गएर हेर्दा ती सामग्री भेटिएको थियो । ‘हामी होटल तथा चमेना गृहहरुको अनुगमनमा निस्किँदा सोही क्रममा भेटिएका उपभोक्ताले गुनासो गरेपछि हामी तत्काल आरसी किराना पुग्यौं, त्यहाँ पुग्दा सन् २०१२ मै म्याद गुज्रिसकेका सामान पनि बिक्रीवितरण भइरहेको पाइएपछि त्यस्ता सामग्री बरामद गरी पूर्णरुपमै नष्ट गरेका छौं’, भरतपुर महानगरपालिका बजार अनुगमन तथा कार्यपालिका सदस्य विष्णु भुजेलले भने ।

उनका अनुसार वर्षौं पुराना खाद्य सामग्री भेटिएपछि ती सबै जफत गरेर सम्बन्धित व्यवसायीकै रोहवरमा खाल्डोमा गाडियो । पसललाई व्यवस्थित नबनाएसम्म सञ्चालन गर्न नपाउने गरी बन्द गरिएको उनको भनाई छ । पसलका सञ्चालक रविन्द्र चिलवालले आफ्नो गल्ती स्वीकार्दै आगामी दिनमा बिक्री गर्न योग्य वस्तुको मात्रै कारोबार गर्ने प्रतिबद्धता जनाए । टोलीले अस्पतालआसपासका क्षेत्रमा व्यवसाय गर्नेहरुले मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार गरेको भेटेपछि त्यस्ता वस्तुलाई पनि नियन्त्रणमा लिएर नष्ट गरेको छ । आगामी दिनमा अस्पतालवरिपरिका कुनै पनि व्यवसायीले धूम्रपान तथा मद्यपानका सामग्री बिक्रीवितरण नगर्न पनि निर्देशनसमेत जारी गरेको छ ।

अनुगमन टोलीले नारायणी सामुदायिक अस्पतालभित्रको चमेना गृह पनि बन्द गराएको छ । टोलीले नियम अनुसार चमेनागृह राख्नसमेत सुझाव दिएको छ । चमेनागृहको भान्छा कोठा अव्यवस्थित भएको भन्दै एक हप्ताको समय दिएर व्यवस्थापन गरेपछि मात्रै खोल्न पाइने गरी हाललाई अस्पताल प्रशासन र भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको रोहवरमा बन्द गरिएको छ । भरतपुर महानगरपालिका उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले सजग हुनुपर्ने बताए ।

सापकोटाका अनुसार पुरानो मेडिकल कलेज अस्पताल परिसरमा रहेका खाजा पसल तथा अस्पतालको गेटबाहिर सञ्चालनमा रहेका केही होटलहरुलाई सरसफाइमा ध्यान नदिएको भन्दै पाँच–पाँच हजार रूपैयाँका दरले जरिवाना गरेको थियो । अस्पताल परिसरभित्रका दुईवटा खाजा पसललाई पनि बन्द गर्न निर्देशन दिएको उनले बताए । सरसफाइमा ध्यान नदिएकाहरुलाई नगर प्रहरीको रोहवरमा सरसफाइ गर्न र केही प्रक्रिया नपुगी व्यवसाय चलाएकाहरुलाई वडा कार्यालयमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

अनुगमनका क्रममा छवटा होटल तथा खाजा पसलहरुलाई कारबाही गरी प्रतिपसल पाँच हजार रूपैयाँका दरले जरिवाना कटाइएको सापकोटाले बताए । सोमबार एकैदिन तीनवटा किराना पसल र १० वटा होटल तथा खाजा घरहरुमा अनुगमन गरिएको थियो ।