नारायण प्रसाद सुवेदी
चितवन । नवनिर्मित ओपिडी भवनको उद्घाटन गरेसँगै पाँच वर्षपछि चितवनको राप्तीमा अन्तरङ्ग सेवा शुरु भएको छ ।
४७ लाख ५० हजार रुपैंयाको लागतमा निर्माण गरिएको सो भवनमा फार्मेसी, ओपिडी, भिडियो एक्स–रेसहित महिला र पुरूषका लागि बहिरङ्ग सेवा सञ्चालन गरिएको हो ।

बहिरङ्ग सेवामा महिलाका लागि पाँच बेड र पुरूषका लागि पाँच बेड छुट्याइएको राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले बताए । उक्त अस्पतालमा पहिलेभन्दा अहिले सेवा तथा सुबिधा थप गरिएकोले बिरामीको चाप बढ्दै गरेको नगर प्रमुख लामाले बताए । राप्ती नगरपालिकाले विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । ‘हामी छिट्टै स्वास्थ्य बिमा लागू गर्दैछौ, त्यस्तै अतिविपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने योजनामा बजेट विनियोजन गरिएको छ’ नगरप्रमुख लामाले भने ।