बारा, साउन १० । बारामा श्रीमतीलाई हतियार प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

सिम्रौनगढ नगरपालिका–६ बजार टोलमा ससुराली बस्दै आएका राज चुडिहारले आज बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन् । स्थानीय जाहिर चुडीहारका ज्वाँई भारतको बिहार राज्यको पूर्वी चंपारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडीहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए ।

श्रीमतीको हत्या गरी भाग्न खोज्दा चुडिहारलाई स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएका छन् । श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् । श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी रहेका छन् ।