काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

साउन २ गतेबाट सुरु भएको बैठकमा सभापतिले बैठकमा उठेका प्रश्नको जवाफ दिएसँगै बैठक सकिएको छ । समापन गर्दै देउवाले नेताहरुबाट आफ्नो धेरै आलोचना नभएको बताए । उनले भने, ‘धेरै आलोचना होला भन्ने थियो, तर भएन साथीहरुलाई धन्यवाद ।’ पछिल्लो समयमा देउवाले पार्टी सञ्चालन गर्न नसकेको भनेर संस्थापनइतरले आरोप लगाउँदै आएको थियो ।

गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बनेको गठबन्धन बचाउन नसकेको आरोप पनि देउवामाथि लाग्दै आएको छ । चुनावी गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री नपाउने भएपछि उसले नेकपा एमालेसँग सरकार निर्माणको लागि गठबन्धन गरेको थियो ।