सिन्धुपाल्चोक, १० साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –१२ का ओमबहादुर वाइबा तामाङ करिब १० वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गए । कतारमा उनी ७ वर्ष बसे पनि सोचेअनुुसार कमाई नभएपछि उनको विदेश बसाइ सुखद् रहेन । त्यसपछि उनी स्वदेशमै केही इलम गर्छु भनेर आफ्नै गाउँ फर्किए ।

गाउँ फर्किएका तामाङको गोठमा अहिले गाई र भैँसी गरेर ४ वटा पशु छन् । आफ्नै खेतबारीमा रमाउँदै पशुपालनमा व्यस्त तामाङले हाल दैनिक २५ लिटर दूध बिक्री गरिरहेका छन् । त्यही दूध बिक्रीबाट उनको दैनिकी चलेको छ । यस्तै मेलम्ची –९, ज्यामिरेका सञ्जिव तामाङ पनि युवा अवस्थामै कुखुरा पालनमा व्यस्त छन् । व्यवसाय सफल हुँदै गए पनि दुवै कृषकले भोगेको साझा समस्या हो; व्यवसायमा प्राविधिक ज्ञानको अभाव । प्राविधिक ज्ञानको कमीले गर्दा सोचेअनुसार लाभ लिन नसकिरहेको दुबैको गुनासो छ ।

यसैबीच दूरदराजका कृषकहरूलाई प्राविधिक ज्ञान प्रदान गर्न एबी प्यालेट फिड प्रालिले बुधबार सिन्धुपाल्चोकमा पशु आहार, रोग र उपचारसम्बन्धी कृषक र विज्ञहरूबीच छलफल गरेको छ । सिन्धुपाल्चोकको बाँसबारी कृषि सहकारी संस्था र एबी प्यालेट फिड प्रालिको आयोजनामा पशुपन्छीसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा एबी प्यालेट फिड प्रालिले उत्पादन गरेको शुभम र सुपर दानाको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा एबी प्यालेट प्रालिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताए । उनले एबी प्यालेट फिड्सद्वारा उत्पादित शुभम र सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा प्रशिक्षक डा. उमेश मण्डलले हाल पशुपन्छीमा देखिएको लम्पीस्किन रोगका कारण कृषकले धेरै क्षति व्यहोर्नुपर्दा पशुपालन क्षेत्रमा नकारात्मक असर परेको बताए । उनले आफ्ना पशु चौपायालाई रोग लाग्नबाट बचाउन कृषकहरू नै सजग हुनुपर्नेमा जोड दिए । उनले पशुपालन गर्दा गोठको स्थिति, मलमूत्रको व्यवस्थापन र पशुका विभिन्न जातका बारेमा जानकारी गराएका थिए । उनले हालसालै मात्र ठूलो समस्याका रूपमा देखापरेको लम्पीस्किन रोगसहित अन्य विभिन्न रोग र उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष सोमराज हलानले कम्पनीहरूले सुरुमा राम्रो दाना पठाउने तर पछि बिक्री बढ्न थालेपछि दानाको गुणस्तर घटाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । जसको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथमिकता रहेको बताए ।
कार्यक्रममा करीब ८० जनाको सक्रिय सहभागिता रहेको थियो । एबी फिड्स प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दिपेश लामिछानेले पोल्ट्री व्यवसाय गर्दा फार्मको व्यवस्थापनबारे सहभागीलाई जानकारी गराएका थिए । यस्तै कम्पनीका प्राविधिक बुद्धिमान कार्की, मार्केटिङ म्यानेजर राजेन्द्र मैनालीलगायतले विभिन्न विषयमा बोलेका थिए ।