काठमाडौं । गोरखाको क्षेत्र नम्बर २ को (क) प्रदेशका सभापति नारायण भनिने दीर्गमान गुरुङ कारागार चलान भएका छन् ।

सरकारी दस्तखत किर्ते कुसरमा उनलाई कैद सजाएको लागि काठमाडौैको डिल्लीबजार कारागार पठाइएको छ । गुरुङलाई काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको थियो । साविकको आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ (हाल पालुङटार नगरपालिका ३ ) निवासी गुरुङलाई अदालतमा पेश गराई कारबाहीको लागि कारागार पठाइएको जनाइएको छ । २०६१ जेष्ठ १८ गते अदालतले एक वर्षका लागि कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कमा रहेको गोरखा लिगलिग होटल, पोखराको होटल गोवा र पालुङटारको लिगलिग रिसोर्टका सञ्चालक समेत हुन् ।

नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले गुरुङलाई निलम्बन गरिने बताए । ‘पार्टीको विधानमा भएको व्यवस्था अनुसार उहाँलाई निलम्बन गरिन्छ, आजै केही समयपछि विज्ञप्ती आउँछ ’ सभापति न्यौपानेले भने ।