काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौ–४ बाट निर्वाचन जितेका कांग्रेस उम्मेदवार गगन थापाले निर्वाचनका क्रममा १० पैसा पनि खर्च भएको देखाएका छन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराए । उनले सामाजिक सञ्जालमा नै फेरि निर्वाचन खर्च सार्वजनिकसमेत गरेको बताएका छन् । थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९। ८। २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको पनि जानकारी गराएका छन् । निर्वाचन आयोगले गत मंसिरको चुनावको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी नगराउने १ हजारभन्दा बढी प्रतिनिधिसभाका उम्मेदवारलाई जरिवानाको निर्णय गरेको थियो । सो निर्णयको केही नेता तथा सांसदले आलोचना समेत गरेका छन् । थापा काठमाडौं –४ बाट २०७० सालको संविधानसभा र २०७४ र २०७९ को प्रतिनिधिसभाको निर्वाचित सांसद हुन् ।