काठमाडौं, साउन १२ । साउन २७ गते परेको अन्तर्राष्ट्रिय युवा दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ । हरेक वर्ष अगष्ट १२ मा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आइएको छ ।

राष्ट्रिय युवा परिषदले बिहीबार मन्त्रालयमा आयोजना गरेको भेलाबाट परिषदका अध्यक्षसमेत रहेका मन्त्री लिम्बुको अध्यक्षतामा ६ सय ५७ सदस्यीय मूल समारोह समिति घोषणा भएको हो । सन् २०२३ का लागि संयुक्त राष्ट्रसंघले ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउन आह्वान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा आयोजित वृहत् भेलाबाट मूल समारोह समिति बनाइएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । समितिमा परिषदका कार्यकारी उपाध्यक्ष, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषदका उपाध्यक्ष, परिषदका सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहेका छन् ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि, परिषद सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद आवद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसमेत समितिमा रहेका छन् । समितिमा परिषदका सवै जिल्ला युवा समितिका अध्यक्षहरु पनि छन् ।

दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रुपमा मनाउन सो समिति बनाइएको परिषदका कार्यकारी बस्नेतले जानकारी दिए । यसैगरी बस्नेतको संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ । सन् २००० देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

यो घोषणासँगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण, अधिकार र सशक्तिकरणलगायतका विविध कार्यक्रम गर्दै मनाउने प्रचलन छ । नेपालमा पनि हरेक वर्ष युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र विभिन्न संघसंस्थाले युवा दिवस विविध कार्यक्रमका साथ युवा दिवस मनाउने गरेका छन् ।