काठमाडौं । जापानमा विद्यार्थी पठाउँदै आएका शैक्षिक परामर्शदाता व्यवसायीहरुको छाता संगठन जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जाल्सानको आज बसेको बैठकले सरकारले ल्याउन लागेको शिक्षा ऐनसम्बन्धी मस्यौदा फिर्ता लिन आग्रह गरेको छ ।

संस्थाका कार्यसमितिका सदस्य कोषराज गिरीले सरकार मस्यौदा सच्याउनेतिर लाग्न नहुने बताए । ‘हामी मस्यौदा सच्याउनुपर्छ भन्ने पक्षमा छैनौं, खारेजी नै हुनुपर्छ भन्ने प्रष्ट लाइन हो’ गिरीले भने ‘यो नयाँ व्यवस्थाले परामर्शदाता व्यवसायीलाई ठूलो मर्का परेको छ त्यसैले कार्यान्वयन गर्छु भन्ने सरकारलाई लागेको छ भने पनि त्यो सम्भव हुँदैन ।’

जाल्सानले भनेको छ–‘वर्तमान परिस्थितिमा हाल शिक्षा ऐन मस्यौदा तयार भई निर्णयार्थ प्रक्रियामा अघि बढिरहेको अवस्थामा शैक्षिक परामर्श व्यवसायीको सम्बन्धमा आएको दफा ६५ को उपदफा ५ र ६ मा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ र जाल्सान पूर्णरुपमा यसको विरोध गर्दछ, यो दफा खारेजीको मागसहित सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ ।’
नयाँ व्यवस्था अनुसार शैक्षिक परामर्श व्यवसायीले व्यवसाय सञ्चालन गर्दा धरौटी राख्नुपर्ने भनिएको छ ।

गिरीले विद्यार्थीलाई शैक्षिक परामर्श दिएर सेवा दिँदै आएका व्यवसायीले धरौटी राख्न नसक्ने पनि बताए । गिरीले आफूहरुको माग सरकारले नसुनेसम्म चरणबद्ध आन्दोलन गरिरहने चेतावनी दिए । यसअघि पनि यो व्यवस्था गर्ने भनेर सरकारले व्यवस्था ल्याएको थियो त्यतिबेला पनि व्यवसायीका विभिन्न संघसंस्थाले विरोध गरेका थिए ।