
काठमाडौं, साउन १३ । वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल बनाउन कारखाना खोल्ने योजना रहेको बताएका छन् ।

आज आफ्नो गृहजिल्ला सिन्धुलीमा आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानीय तहहरुको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने स्पष्ट पारेका हुन् । ‘रासायिनक मलले वातावरण बिग्रिने, उत्पादन नहुने र भोकमरीको अवस्था हुने खतरा बढ्दै गएको छ, यसर्थ रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने अवस्था छ, स्थानीय तहहरुसँग समन्वय गरेर यही आर्थिक वर्षमा नै प्राङ्गारिक मल कारखाना बनाउने छौं ’ मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले वातावरण संरक्षणको लागि प्रत्येक नागरिक सचेत भई आफ्नो घर, टोलको सरसफाईमा ध्यान दिनुपर्नुेमा जोड दिए । मन्त्री श्रेष्ठले विपी राजमार्गको सुन्दरता जोगाइराख्न राजमार्गमा यात्रा गर्ने यात्रुहरुले प्रयोग गर्ने प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा कडाई गर्नुपर्नेमा जोड दिए । ‘विपी राजमार्ग बेलाबेलामा सरसफाई गरेर मात्रै हुँदैन, राजमार्ग सफा राख्न राजमार्गमा गुड्ने गाडी र यात्रुलाई सचेत गराउनुपर्छ । फोहोर गाडीमै संकलन गरेर निश्चित ठाउँमा विसर्जन गर्ने कार्यलाई कडाईका साथ लागु गर्नुपर्छ’ मन्त्री श्रेष्ठले भने ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले सफा र स्वच्छ नगर बनाउन सबै नगरवासी नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले आफ्नो घर, टोल आफैंले सफा गर्ने बानीको विकास गर्नुपर्ने बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिमाई मन्दिर परिसरदेखि सिलामेसम्म सडक सरसफाई गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, नगरप्रमुख पोखरेल, प्रहरी प्रमुख राजकुमार सिलवालसहित सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, राजनीतिक दलका नेताहरु, स्थानीय नागरिक, पत्रकार लगायतको उपस्थितिमा सडक सरसफाई गरिएको थियो ।






