धरान, साउन १४ । प्रकोपमा रुपमा फैलिएको डेंगीका कारण सुनसरीको धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेंगी पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा २ हजार ३ सय ५३ जना डेंगी सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएमध्ये ५९ प्रतिशतमा डेंगी देखिएको हो । धरानको ११, १५, १७ र १८ नम्बर वडा डेंगीका कारण बढी प्रभावित छन् ।

संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगीको छुट्टै वार्ड सञ्चालन गरिएको छ । विपिमा डेंगीका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ ।

डेंगी नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २ सय ४० वटै टोल विकास संस्थालाई डेंगी नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।