काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार सकिएको छ । साउन २ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले पार्टीको आगामी कार्यदिशाको टुंगो लगाएको छ ।

बैठकको निर्णय सार्वजनिक गरिरहँदा भोलिका दिनमा पार्टीले गति लिने सम्भावना पनि देखिएको छ । कांग्रेसको महासमितिको बैठक बोलाउनेमात्र होइन केन्द्रीय कार्यसमितिको अर्को बैठक बोलाउने मिति पनि तय गरेको छ । कांग्रेसको बोली एउटा र व्यवहार अर्को हुने गरेकाले धेरैले कांग्रेसको स्वभाव उही भएको भनेर टिप्पणी गरेका छन् । बैठकमा सधैं उपस्थित भएका सभापति देउवाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न ध्यानपूर्वक सुनेका थिए । अरुबेला पार्टीको खासै वास्ता नगर्ने र आफ्नै शैलीमा पार्टी सञ्चालन गर्ने गरेका देउवाको धैर्यताको भनें प्रशंसा भएको छ । देउवाले बैठक सकिएका दिन आफ्नो आलोचना कम भएको भन्दै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई धन्यवाद दिएका थिए । देउवा हत्तपत्त बोल्दैनन् र कसैले आफ्नो विरोधमा चर्का कुरा गर्यो भनें पनि त्यसलाई त्यति वास्ता गर्दैनन् । देउवाले आफूमाथि आएका सबै प्रश्नको जवाफ दिएनन् । उनले जवाफ नदिँदा फेरि कसैले उनलाई फेरि प्रश्न पनि गरेनन् । देउवाले थोरैमात्र बोलेर नै बैठक सकेका छन् ।

२०७८ मंसिरमा भएको पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका मुख्य प्रतिस्पर्धी शेखर कोइराला पनि यस पटक मौन रहे । देउवालाई मुख्य डर कोइराला र उनीपक्षीय नेताहरुको थियो । कोइराला पक्षका केही नेताहरुले पार्टीको अवस्था गम्भीर भएको भन्दै यसलाई सच्याएर लानुपर्ने सुझाव दिएका थिए । कोइराला र देउवाबीच आपसी कुरा मिलिसकेकाले कोइराला देउवाप्रति नरम भएको भनेर भन्ने गरिएको छ । पछिल्लो समयमा भएका पार्टीका केही कार्यक्रममा उनीहरु सँगै पनि गएका थिए । कांग्रेसीहरुले भनें कोइरालाको भूमिका अस्पष्ट भएको भनेर आरोप लगाएका छन् । कोइरालालाई देउवाले वरिष्ठ नेता बनाउने भित्री तयारी भइसकेकाले पनि कोइराला मौन रहेको अनुमान लगाउन थालिएको छ । बैठकमा खासगरी भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता वालकृष्ण खाणको चर्चा भएको थियो । देउवापक्षधर नेता भनेर चिनिने खाणको पक्षका उनी पक्षधरले खुलेर पक्षमा बोलेका थिए भनें अर्कोपक्षका नेताले भनें खाणको विरोधमा धारणा राखेका थिए ।

गत मंसिर ४ गते भएको निर्वाचनमा विभिन्न पार्टी मिलेर गठबन्धन गरेका थिए । नेपाली कांग्रेस प्रतिनिधिसभाको पहिलो दल बन्यो तर पनि उसले सरकार बनाउन सकेन । संसदमा तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यतिबेला कांग्रेसलाई झुक्याएर बठ्याँई गरेका थिए । कांग्रेसले प्रधानमन्त्री नदिने संकेत गरेपछि उनी एमालेको शरणमा गएका थिए । प्रचण्डले आफू एमालेसँग गएर नमिलेको बताउँदै आएका छन् । उनले एमालेले आफूलाई बोलाएको भनेर भन्दै आएका छन् । देउवा प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि त्यतिबेलाको गठबन्धन टिकाउनुपर्छ भन्ने सोचमा थिए भनें उनका वरिपरि घुम्नेहरुले भनें कुनै पनि हालतमा सरकारको नेतृत्व प्रचण्डलाई दिन नहुने भन्दै दवाव दिएका थिए । देउवालाई सरकार निर्माणमा सहयोग गर्ने त्यतिबेला पार्टीभित्र पनि कोही भएन तर प्रचण्डले सरकार बनाइसकेपछि भनें देउवाले प्रधानमन्त्री खान खोज्दा पार्टीको यो अवस्था आएको भनेर आलोचना गरेका छन् । देउवा भनें ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्री पाउनु स्वभाविक भएको भन्दै बढी ढुक्क भएको उनीनिकट बताउँछन् ।

कांग्रेसभित्र शुद्धीकरण गर्न र परिवर्तनको नेतृत्व गर्न आफूहरु सक्षम भएको दाबी गर्ने महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पनि देउवालाई अप्ठ्यारो परेको बेला भूमिका खेल्न सकेनन् । गत पौष १० मा सरकार बनिरहँदा महामन्त्री थापा भनें पोखरामा कबिता भन्न गएका थिए । थापाको यो कदमको पनि आलोचना भएको छ । देउवाले पौषमा प्रचण्डले विश्वासको मत माग्दा कांग्रेसले पनि विश्वासको मत दिएको थियो । यसबाट प्रचण्डप्रति कांग्रेस पनि लचिलो भएको अनुमान लगाउन सकिन्थ्यो । गत फाल्गुण २५ गते राष्ट्रपतिको र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन भएसँगै फेरिएको राजनीतिक सहमतिले कांग्रेस सभापति देउवालाई मात्र होइन सम्पूर्ण कांग्रेसीलाई नै फाइदा भयो । देउवाको यो चालबाजीको धेरैले प्रशंसा गरेका छन् । देउवाले सबैजसो प्रदेशमा कांग्रेसको सहभागिता हुने गरी योजना बनाए, जुन अहिले सफल भएको छ ।