काठमाडौं, १६ साउन । संविधानमा भएका अधिकार पूर्ण कार्यान्वयन हुन नसकेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । आज पार्टीनिकट विद्यार्थी अनेरास्ववियुले आयोजना गरेको सम्मान कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले धेरै ठुलो मेहनत गरेर जनताको अधिकार संविधानमा लेखेको भएता पनि अझै पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो गरेका हुन् ।

अध्यक्ष नेपालले भने, ‘जनतामा भेदभाव, अन्याय र अत्याचार भयो भने एकले अर्कालाई गरीब दलित विपन्न भनेर हेला गर्ने प्रवृत्ति भयो भने रहेसम्म देशको प्रगति गर्न सक्दैन धेरै ठुलो मेहनत गरेर जनतालाई थुप्रै अधिकार दिने गरी लेखिएको छ, संविधानको लेखाईमा कमी छैन ।’

उनले देशको नेतृत्व गर्नेहरु नै देश बनाउने भावनाले ओतप्रोत नभएको टिप्पणी गरे । देश र राष्ट्रमाथि कुनै आँच आउने काम भएमा नेपालीहरुलाई त्यो स्वीकार्य नहुने उनको भनाई छ ।  उनले भने, ‘देशमा धेरै समस्याहरू छन् तीमध्ये पहिलो समस्या हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौ, हामी देश बनाउने भावनाले ओतप्रोत छैनौ ।’