
काठमाडौं, साउन १७ । अब अस्पतालले उपचारका क्रममा हुने मृत्युको अडिट रिपोर्ट तयार पारेर स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचार गरेका बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै अस्पताललाई अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान प्रतिवेदन पठाउन पत्राचार गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो । उक्त प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउन मन्त्रालयले आग्रह गरेको छ । उक्त रिर्पोटले मृत्युको ट्रेन्ड कस्तो छ ? कुन रोग, के कारणले बढी मृत्यु हुँदो रहेछ ? भन्ने यथार्थ जानकारी हुने भएकोले मृत्यु अडिट गर्न लागेको मन्त्रालयका अधिकारी बताउँछन् ।
कांग्रेस नेता मोहनबहादुर वस्नेत स्वास्थ्यमन्त्री भएपछि उनले स्वास्थ्य क्षेत्रलाई सुधार्ने प्रयास गरिरहेका छन् । उनले पैसाको अभावमा कुनै पनि बिरामीले उपचार नपाउने अवस्थाको अन्त्य गरिने पनि बताएका छन् । स्वाथ्य सेवा शुलभ र विश्वसनीय हुनुपर्छ भन्ने उनको अडान कायमै छ । उनले स्वास्थ्यमा नीतिगत सुधार गर्ने योजना बनाएका छन् ।
