काठमाडौं, १९ साउन । भारतको उत्तर प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् ।

पहिरोमा परेर हुम्लाका १० जना बेपत्ता भएका छन् भने ७ जना जुम्लाका रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेका छन् । हुम्लाका वीरबहादुरले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ । पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ । उनीहरूको थर भने खुलेको छैन ।

वीरबहादुरकै होटेलमा खाना खान गएका धर्मराज बुढा र उहाँका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् । यस्तै, पहिरोमा परी अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन् भने खुलेको छैन । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।