
काठमाडौं, साउन २१ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि चलेको बैठक आज सकिएको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले केही नयाँ निर्णय गरेको छ । बैठकमा उठेका प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिएसँगै बैठक सकिएको हो ।
बैठकमा प्रचण्डनिकटले भनें प्रचण्डको व्यवहार र कार्यशैलीका कारण पार्टी यो अवस्थासम्म आउन सकेको टिप्पणी गरेका छन् । उनीसँग निकटले उनको प्रशंसा गरेका छन् । उनको नेतृत्वमा चलेको सरकारले पनि जनताको काम राम्रोसँग गरेकाले सरकार धन्यवादको पात्र भएको बताएका छन् । प्रचण्डको कार्यशैली मन नपराउनेले भनें यसरी पार्टी नचल्ने र नेतृत्व सध्रिनुपर्ने सुझाव दिएका छन् । प्रचण्डले पार्टीभित्र एकलौटी गरेको र नातावादलाई प्राथमिकता दिएको भन्दै आलोचनासमेत भएको छ । सरकारले गरेका काममा पनि केहीले टिकाटिप्पणी गरेका छन् ।
केही दिनअघि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि केन्द्रीय समितिको बैठक बसेको थियो । एक सातासम्म चलेको बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरु र पदाधिकारीले उठाएका प्रश्नको जवाफ दिएका थिए । सबै प्रश्नको जवाफ दिनु जरुरी नठानेका देउवाले बैठक त्यत्तिकै सके । उनको विरोधमा पनि केही आवाज उठेको थियो । देउवाले बैठकलाई सम्बोधन गर्दै आफूविरुद्ध धेरै आवाज नउठेकोमा धन्यवादसमेत दिएका थिए ।
देउवालाई केहीले सामन्ती भएको र पार्टीमा एकलौटी निर्णय गरेको भनेर आलोचना गरे पनि देउवाले त्यसलाई सामान्य रुपमा लिएका थिए । देउवा विरोध पनि सहन सक्ने चरित्रका भएकाले उनले सबैका कुरालाई त्यति धेरै प्राथमिकतामा पनि राखेनन् । देउवाले केन्द्रीय समितिमा मनोनीत गरेका केन्द्रीय सदस्यहरुले उनको गुनगान नै गाए । पार्टीको बैठक सकियो तर पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने र रुपान्तरणका कार्यक्रम के–के ल्याउने भन्नेमा कुनै पनि छलफल भएन ।
गत मंसिर ४ गते भएको निर्वाचनको बारेमा पनि जति समीक्षा हुनुपर्ने त्यो नभएको केन्द्रीय सदस्यहरुले जनाएका छन् । बैठकले पार्टीलाई एकताबद्ध बनाएर लाने निर्णय गरे पनि त्यसको खाका भनें आउन सकेको छैन । कांग्रेसभित्र देखिएको गुटको द्धन्द्ध र अन्तरसंघर्षलाई आगामी दिनमा कसरी व्यवस्थित गर्ने योजना पनि बनेन । हिजोको निर्वाचनमा बागी उम्मेदवार बनेकालाई पार्टीले कारबाही गर्ने आँटसमेत गरे । निर्वाचनमा जथाभावी टिकट बाँडिने संस्कार बढेकामा धेरैले चिन्ता व्यक्त गरेका थिए । राम्रोलाई भन्दा पनि हाम्रोलाई टिकट दिने र त्यसबाट केही लाभ लिने परम्पराले कांग्रेसलाई सताएको छ ।
नेकपा एमालेको बैठक पनि बस्दै आएको छ । कुनै महत्वपूर्ण निर्णय गर्नुपर्दा सचिवालय बैठक बस्ने गरेको छ भनें पछिल्लो समयमा केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा दबदबा रहेकाले उनले गरेका कुनै पनि निर्णयको विरोधमा कसैले औंलो ठड्याउन सकेका छैनन् ।
ओलीबाट केही पाउन उनको प्रशस्तै चाकडी गर्नुपर्ने भएकाले कोही पनि विरोधमा बोल्ने आँट गर्दैनन् । ओलीले गलत निर्णय गरे पनि चुपचाप सहनुपर्ने पार्टीका शीर्षनेताको पनि बाध्यता बनेको छ । ओलीका कतिपय निर्णयले पार्टीलाई घात गर्ने थाहा भए पनि नबोल्नुले भोलिका दिनमा पार्टीको अवस्था के होला भन्ने चिन्ता गर्ने बेला भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक पनि भदौ ५ देखि ७ गतेसम्म काठमाडौंमा बस्दैछ । एमालेबाट विभाजन भएर बनेको यो पार्टीले पनि आफूलाई कसरी अघि लैजाने भन्ने प्रष्ट खाका राख्न सकेको छैन । एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि राख्दै बनेको यो पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ । प्रतिनिधिसभाको समानुपातिकमा थोरै मत नपुग्दा समानुपातिक सांसद बनाएन नपाएको यो पार्टीलाई पनि भोलिका दिनमा चुनौती देखिएको छ ।
पार्टीले एमालेले कम्युनिष्ट सिद्धान्त छोडेको र बाटो बिराएको आरोप पनि लगाउँदै आएको छ ।
पार्टीको अवस्था के छ र जनताले आफूहरुलाई के भनिरहेका छन् भनेर बुझ्न पार्टीको केन्द्रीय समिति र अन्य निकायको बैठक बसिरहनुपर्ने भए पनि कहिलेकाहीँमात्र बैठक बस्ने र बैठकले स्पष्ट निर्णय नगर्ने गरेका कारण बैठक कर्मकाण्डीमै सीमित हुने गरेका छन् ।
