
काठमाडौं, साउन २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर वस्नेतको एउटै नारा रहेको छ, त्यो हो ‘स्वास्थ्य उपचार नपाएर कुनै पनि नागरिकले अकालमा अब अकालमा ज्यान गुमाउनु नपरोस् ।’ उनले भनेका मात्र होइनन् यो अभियानलाई सार्थकता पनि दिँदै आएका छन् ।
उनी मन्त्री भएदेखि नै जनताको पक्षमा बोल्दै आएका छन् । ग्रामीण तहको राजनीतिबाट खारिएर केन्द्रमा समेत राम्रो पहुँच बनाइसकेका उनले गरेका कामको चौतर्फी चर्चा भएको छ । उनले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसंगतिलाई केलाउने र त्यसको समाधान गर्ने प्रयास गर्दै आएका छन् । वस्नेत एउटा भन्ने र अर्को गर्ने नेताका रुपमा नचिनिने भएकाले पनि उनको प्रत्येक शब्दलाई जनतालाई आशावादी बनाउने गरेको छ । कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यसमेत रहेका उनले अस्पताल सुधार्ने अनेक प्रयास गर्दै आएका छन् । पदमा हुँदा वा नहुँदा पनि जनताको पक्षमा बोल्ने उनले पैसाको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताएका छन् । उनले जिल्लाका लागिमात्र होइन देशका जुनसुकै क्षेत्रमा बस्ने नागरिकलाई पनि आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् । उनकै सक्रियतामा केही विद्यार्थी विद्यालय तथा क्याम्पसमा अध्ययन गर्दै आएका छन् ।
वस्नेत मन्त्री भएपछि स्वास्थ्य क्षेत्रका माफिया र तस्करहरुको भनें भागाभाग भएको छ । मन्त्री वस्नेत कुनै पनि दलालको कुरा नसुन्ने भएकाले पनि गलत नियत राख्नेहरुको लागि मन्त्री वस्नेत घाँडो भएका छन् । भ्रष्टाचार र अनियमितताको विरोधमा सधैं बोल्दै आएका मन्त्री वस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हुन् । मन्त्री वस्नेतले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्दै आएका छन् । कुन व्यक्तिको मृत्यु के कारणले भएको हो भनेर पहिचान गर्न र त्यसको लागि उपचारमा सहजीकरण गरेर सम्भावित खतरालाई रोकथाम गर्नका लागि मन्त्री वस्नेतले सक्रियता लिएका छन् । अहिलेसम्म कुनै पनि स्वास्थ्यमन्त्रीले यस्तो निर्णय गरेका थिएनन् । अब अस्पतालले उपचारका क्रममा हुने मृत्युको अडिट रिपोर्ट तयार पारेर स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचार गरेका बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको सचिवस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले सबै अस्पताललाई अस्पतालमा मृत्यु भएकाको मृत्युको कारण पहिचान प्रतिवेदन पठाउन पत्राचार गरेकी हुन् । स्वास्थ्य मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो । उक्त प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउन मन्त्रालयले आग्रह गरेको छ ।
स्वाथ्य सेवा शुलभ र विश्वसनीय हुनुपर्छ भन्ने मन्त्रीको अडान रहेको छ । उनले स्वास्थ्यमा नीतिगत सुधार गर्ने योजना पनि बनाएका छन् । जसका लागि उनले सरोकारवाला पक्षसँग पटक पटक छलफलसमेत गर्दै आएका छन् ।
