काठमाडौं, साउन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देन आफ्नै व्यवहारका कारण पार्टीभित्र संकटमा परेका छन् । उनको कार्यशैली तानाशाही र अराजक भएको भन्दै हिजोका दिनमा उनलाई सहयोग गर्नेले पनि साथ छोड्न थालेका छन् ।

राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले पार्टीलाई आफ्नो स्वार्थपूर्तिको साधन बनाएको र मनपरी निर्णय गरेको भन्दै आलोचना खेपेपछि २०७८ मंसिरमा भएको पार्टीको महाधिवेशनमा लिङ्देनप्रतिको बढ्दो विश्वासका कारण थापा लिङ्देनसँग लज्जास्पद ढंगले पराजित भएका थिए । राजेन्द्र अध्यक्ष भएपछि केही होला भन्ने आशामा रहेका नेता तथा कार्यकर्ताले अहिले लिङ्देन त थापाभन्दा पनि खराब भएको भनेर तर्क गरेका छन् । लिङ्देनले हिजोको महाधिवेशनमा आफूलाई जिताउन सहयोग गर्नेलाई बेवास्ता गर्दै आएका छन् । प्रष्ट रुपमा अध्यक्षको विरोध गर्न नसके पनि उनीहरु भित्रभित्रै आलोचनामा व्यस्त छन् ।

लिङ्देनलाई पार्टीका पूर्व अध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणाले पनि विश्वास गर्न छोडिसकेका छन् । राणालाई संसदीय दलको नेता बनाउने आश्वासन दिएका लिङ्देन पछि आफैं नेता भएपछि लिङ्देनसँग राणा बिच्किएका छन् । गत महाधिवेशनमा लिङ्देनले आफूसँग गरेको सहमति पालान नगरेको भन्दै प्रकाशचन्द्र लोहनी पनि उनीसँग असन्तुष्ट छन् । लिङ्देनले त्यतिबेला अध्यक्ष जित्न आफूलाई प्रयोग गरेको भन्दै लोहनी बिच्किएका छन् । त्यतिबेलाको सहमतिमा आफूलाई समानुपातिक सांसदको एक नम्बरमा राख्ने कुरा भएको र त्यसलाई लिखितसमेत गरिएको लोहनीको भनाई छ । समानुपातिक सांसद चयन गर्दा लोहनी र राणाका बीचमा भोटिङ भएको थियो त्यसमा राणा चयन भएका थिए । लोहनीलाई लिङ्देनले निर्देशक समितिको अध्यक्ष बनाउने सहमति जनाएका थिए । लोहनी अहिले अध्यक्ष भए पनि लिङ्देनले दिन चाहेका थिएनन् । यसका लागि पनि लोहनीले निकै दुःख गर्नुपरेको थियो । कुनै पनि नियुक्ति र सिफारिसमा लोहनीको निर्णय नै अन्तिम निर्णय हुने गरी भएको सहमतिलाई पनि लिङ्देनले लत्याएका छन् ।

लिङ्देनले समानुपातिक सांसद छान्दा पैसाको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । उनले भर्खरैमात्र पार्टी प्रवेश गरेकालाई पनि समानुपातिक सांसद बनाएका छन् । पार्टीका नेताहरुले सांसद कुन आधारमा बनाइयो भनेर पटक पटक प्रश्न गरे पनि लिङ्देनले जवाफ दिएका छैनन् । संसदीय निर्वाचनअघि पार्टीका केन्द्रीय सदस्य र निवर्तमान तथा पूर्व केन्द्रीय सदस्यहरुले लिङ्देनलाई यसै विषयमा सचेतनापत्र दिए पनि त्यसलाई उनले वास्ता गरेनन् । लिङ्देनलाई भर्खरैमात्र पार्टीमा आएकालाई महत्वपूर्ण जिम्मेवारी दिने गरेको र पुरानालाई पाखा लगाइएको आरोप लागेको छ ।

लिङ्देनसँग लोकेन्द्रबहादुर चन्द, राणा, लोहनीसहित, विक्रम पाण्डे, नवराज सुवेदी, हरिबहादुर वस्नेत, रामकुमार सुव्वा, सगुन लावतीसहितका नेताहरु असन्तुष्ट रहेको जनाइएको छ । लिङ्देनले केही दिनअघि आफ्नो पक्षमा नरहेको भन्दै मोरङ, रौतहट र दाङको निर्वाचित जिल्ला कार्य समिति भंग गरिदिएका छन् । पार्टीका नेताहरुले निर्वाचित जिल्ला समितिलाई भंग गर्ने अधिकार अध्यक्षमा नभएकाले विरोध गरेका छन् । उनीहरुले लिङ्देनलाई पनि त्यसरी नै अध्यक्षबाट हटाइदिने चेतावनी दिँदै आएका छन् ।

गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–३ बाट उम्मेदवार भएका लिङ्देनले एमालेको सहयोगमा निर्वाचन जिते ।

२०७४ सालमा पनि लिङ्देनले एमालेको सहयोगमा नै जितेका थिए । यसबापत लिङ्देनले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गरेका थिए । २०७४ मा पनि ओलीको निर्वाचन क्षेत्रमा लिङ्देनको पार्टीको उम्मेदवार थिएन । सधैं ओलीले मात्र तालमेल गर्ने भनेर एमाले एकातिर रुष्ट भएका छन् भनें अर्कातिर विचार र सिद्धान्त नमिल्ने एमालेसँग तालमेल गरेर आफूले मात्र निर्वाचन जित्ने दाउ गरेको आरोप लिङ्देनमाथि लाग्दै आएको छ । लिङ्देनसँग यो पटक पनि कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला उम्मेदवार थिए ।