
काठमाडौं, २३ साउन । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् । आज पत्रकार सम्मेलन गरेर उनीहरुले ज्ञापनपत्र बुझाउनेदेखि १ भदौबाट अनिश्चितकालीन विद्यालय बन्द गर्नेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रस्तावित विधेयकमा समावेश गरिएका केही विषयप्रति आपत्ति जनाउँदै निजी विद्यालयका छाता संगठन प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
कम्पनीमार्फत सञ्चालित विद्यालयहरुलार्ई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्न खोजिएको भन्दै सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रमअनुसार देशभर बुधवार पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समान्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बिहीवार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रवार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ–आफ्ना संगठनमा समीक्षा बैठक गर्ने र शनिवार देशैभरका अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने रहेका छन् ।
