काठमाडौं, २३ साउन । सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानविन कसले गर्ने भन्दै नेकपा एमालले प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेसाथ समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले आफूहरुको शंका गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि समेत रहेको भन्दै सरकारी संयन्त्रले सुन प्रकरणमा गर्ने छानविन मान्य नहुने चेतावनी दिए ।

उनले भने ‘गृहमन्त्री जी तपाईको पोलिटिकल को छ, फिल्ड कमिसार को छ ? तपाईको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? फिल्ड कमिसारको सूचना तपाईले फेरिफाई गर्नु भएको छैन । हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्री जीसंग पनि बयान कसले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ ।

प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुँदा ती कहाँ सुतेका थिए । यीनीहरुमाथि कस्ले प्रश्न उठाउँछ ? ’ उच्चस्तरिय छानविन समिति गठन भए आन्दोलन जारी रहने बताएका उनले समिति गठनबारे भोटिङ गर्न उनको माग छ ।