
हेटौंडा, साउन २३ । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना १४ घण्टापछि घाइते अवस्थामा भेटिएका छन् ।
सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङलाई १४ घण्टापछि भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिए । वाइवका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो । उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो ।
स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
