काठमाडौं, साउन २३ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले सरकारले नै संसद खुालउन नचाहेको बताएका छन् ।

आज संसद बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल सकारात्मक नभएको भन्दै उनले थपे ‘सरकार नै संसद चलाउन चाहिरेको छैन, एमालेले कुनै ठूलो माग राखेको छैन, सामान्य माग पनि सम्बोधन नगर्नुु भनेको सरकारको कमजोरी हो ।’ वालुवाटारको बैठकमा सहभागी उनले सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको बताए ।

उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने विषय सामान्य भए पनि उनी आफ्नो जिम्मेवारीबाट भागेको समेत आरोप लगाएका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले संसदमा जवाफ दिएका थिए । सरकारको प्रतिबद्धता नआएको भन्दै नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गरेको हो । ‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनााउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तुभन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो’ एमाले सचेतक बर्तौलाले भने ।

उनले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष बेन्चमा रहेका राजनीतिक पार्टीहरुले उठाएको विषयमा सरकार जवाफदेही नभएको आरोप लगाए । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबीन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बर्तौलाले बताए ।

एमाले सचेतक महेश बर्तौलाले बोलेपछि सभामुख देवराज घिमिरेले बोल्नका लागि कांग्रेसका सांसद रामहरि खतिवडालाई समय दिएका थिए । त्यसपछि एमाले सांसदहरुले संसदमै नाराबाजी सुरु गरेका थिए । त्यसपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका छन् ।