
काठमाडौं, २४ साउन । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्ने छन् ।
साथै शिक्षामन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने छन् । सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको सुचना सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
