काठमाडौ, २४ साउन । नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वय गर्ने बताएका छन् ।

तर उनले नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारेका छन् ।

उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बावुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानूनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृतमात्रै गरिएको छ अहिले । पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले स्वघोषणा भए पुग्छ ।’