काठमाडौ, २४ साउन । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको छ । महासंघले बुधबार काठमाडौंमा सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार आफुहरुले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफुहरुलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए ।

उनले भने ‘ सरकारलाई काम गर्ने कार्यतालिका हामी दिन्छौं । सरकारले हामीलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्छ । यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ । यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ ।‘

अध्यक्ष सिंहले राज्यले आफ्नो आन्दोलनलाई स्वीकारेर माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए । राज्यले यसको जिम्मेवारी नलिने हो भने निमार्ण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।