काठमाडौं २८ साउन । शुक्रबार रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

यसैगरी पश्चिम म्याग्दीका ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । शनिबारदेखि लगातार पानी परिरहेकाले पश्चिम म्याग्दीको दरवाङ–बिम सडकबाहेक अन्य सडक अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका–२ रुमका बेलबहादुर विकले जानकारी दिएका छन् ।

सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँमा जाने यात्रु र यातायातका साधन सञ्चालन हुनसकेका छैनन् । देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधन बीचबाटोमै अलपत्र परेका यातायात व्यवसायीले बताएका छन् ।