काठमाडौं, साउन २९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर वस्नेतले आफ्नो कार्यकाल सय दिन पुगेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा रहेको राष्ट्रियसभा गृहमा भव्य कार्यक्रम गरे । उनले मन्त्रालय मातहतका कर्मचारी र स्वास्थ्यकर्मीका साथै विभिन्न निकायका प्रमुखलाई पनि कार्यक्रममा आउन आग्रह गरेका थिए । उनले भनेजस्तो राम्रो उपस्थिति पनि भयो र मन्त्रीले आफूले अहिलेसम्म गरेका कामको व्याख्या गरेर सुनाए ।

मन्त्री वस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख अतिथि बनाएपछि यसको थप चर्चा रहयो । कतिपयले भनें मन्त्रीले नाटक बढी गरेको र चर्चाका लागि अनेक फन्दा गरेको भनेर टिप्पणी पनि गरेका छन् । मन्त्रीले आफ्नो कार्याकाल सय दिन वा अरु कुनै निश्चित दिन पुगेको उपलक्ष्यमा मन्त्रालयमा नै सामान्य पत्रकार भेटघाट गर्नेक्रम चलिरहेको छ तर मन्त्री बस्नेतको यो कदम भनें अरुभन्दा थोरै फरक रहेको छ । मन्त्री बस्नेतले सधैं जनताको कामलाई प्राथमिकतामा राख्दै आएका छन् । अरु मन्त्री र नेताले भन्ने एउटा र गर्ने अर्को गरिरहेका बेला मन्त्री बस्नेत फरकधारमा अघि बढेकाले उनको चर्चा राम्रै हुने गरेको छ । साहसिक अडान भएका र आफूले बोलेको कुरा पूरा गरेरै छोड्ने मन्त्रीका रुपमा बस्नेतलाई लिइन्छ । उनले अहिलेसम्म जुन पदमा बसेर आफ्नो भूमिका खेले त्यसमा उनी सफल भएका छन् । उनी स्वास्थ्यमन्त्री भएपछि अरु धेरै कुरा गरेका छैनन् ।

उनले सहभागिता जनाउने प्रत्येक कार्यक्रममा पनि उनी स्वास्थ्यकै विषयमा केन्द्रित भएर आफ्नो मन्तव्य राख्ने गर्छन् । उनको एउटै नारा रहेको छ, त्यो हो ‘स्वास्थ्य उपचार नपाएर कुनै पनि नागरिकले अकालमा अब अकालमा ज्यान गुमाउनु नपरोस् ।’ उनले भनेका मात्र होइनन् यो अभियानलाई सार्थकता पनि दिँदै आएका छन् । उनले उपचार नपाएका बिरामीको उपचार गर्ने जिम्मा सरकारले लिने पनि बताए ।

ग्रामीण तहको राजनीतिबाट खारिएर केन्द्रमा समेत राम्रो पहुँच बनाइसकेका उनले गरेका कामको चौतर्फी चर्चा भएको छ । उनले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसंगतिलाई केलाउने र त्यसको समाधान गर्ने प्रयास गर्दै आएका छन् ।

कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यसमेत रहेका उनले अस्पताल सुधार्ने अनेक प्रयास गर्दै आएका छन् । उनले जिल्लाका लागिमात्र होइन देशका जुनसुकै क्षेत्रमा बस्ने नागरिकलाई पनि आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् । उनकै सक्रियतामा केही विद्यार्थी विद्यालय तथा क्याम्पसमा अध्ययन गर्दै आएका छन् । भ्रष्टाचार र अनियमितताको विरोधमा सधैं बोल्दै आएका मन्त्री वस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हुन् ।

मन्त्री वस्नेतले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्दै आएका छन् । कुन व्यक्तिको मृत्यु के कारणले भएको हो भनेर पहिचान गर्न र त्यसको लागि उपचारमा सहजीकरण गरेर सम्भावित खतरालाई रोकथाम गर्नका लागि मन्त्री वस्नेतले सक्रियता लिएका छन् । अहिलेसम्म कुनै पनि स्वास्थ्यमन्त्रीले यस्तो निर्णय गरेका थिएनन् । अब अस्पतालले उपचारका क्रममा हुने मृत्युको अडिट रिपोर्ट तयार पारेर स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचार गरेका बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचान गरी प्रतिवेदन पठाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सबै संघीय, प्रादेशिक, स्थानीय र निजी तथा सामुदायिक अस्पतालहरुलाई स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएकाको मृत्युको कारण पहिचान गरी त्यसको प्रतिवेदन पठाउन पत्राचार गरेको हो । उक्त प्रतिवेदन स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखामा पठाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्री बस्नेतका यस्ता काम हेर्दा उनी नागरिक र नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको देखिन्छ ।