काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा पछिल्लो समयमा महाधिवेशनको चलन नै हराएजस्तो छ । पार्टीले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नेभन्दा पनि आफूलाई मन परेको मान्छेलाई संघसंगठनको जिम्मा दिने गरेको छ । बेलामा महाधिवेशन नहुँदा कांग्रेसका सबैजसो भ्रातृ तथा शुभेच्छुक संघसंगठन ध्वस्त भएका छन् ।

कतिको त कहिले महाधिवेशन भएको थियो भनेर सम्झिन पनि मुस्किल छ । कांग्रेसले इलेक्सनभन्दा सेलेक्सनलाई जोड दिँदै आएको छ । विभिन्न कारण देखाउँदै उसले समयमा महाधिवेशन नगर्नु उसका लागि समस्याको विषय बनेको छ । अहिले सबै ठाउँमा पार्टी सभापति रहेका शेरबहादुर देउवाको हालीमुहाली रहेको छ । उनले पार्टीभन्दा पनि आफू बलियो बन्ने दाउ बनाएका छन् । सबै ठाउँमा आफूले कब्जा गर्न सके आफू त्यसै पनि बलियो भइन्छ भन्ने उनको बुझाई रहेको छ । विभिन्न महत्वपूर्ण निर्णयमा सल्लाह र छलफल गरेजस्तो गरे पनि उनी एकलौटी निर्णय गर्दै आएका छन् । २०७८ मंसिरमा भएको पार्टीको १४ औं महाधिवेशनमा फेरि पनि सभापति जितेका उनले आफ्नो अधिकार बढी प्रयोग गरेको र सबै पक्षलाई समन्वय गर्न नसकेको अर्को पक्षको आरोप रहेको छ । देउवा थोरै बोलेर पनि आफूलाई अग्रस्थानमा राख्ने नेतामध्ये नै पर्छन् । उनी पार्टीमा जतिसुकै आन्तरिक विवाद हुँदा पनि भरसक कसैलाई गाली गर्दैनन् , यो बानीले नै उनलाई सफल बनाएको छ ।

देउवासँगै उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको नाम पनि जोडिने गरेको छ । श्रीमान देउवाको नामबाट आरजुले पार्टीभित्र आतंक नै मच्चाएको गुनासो पनि आउने गरेको छ । आरजुले नै पार्टीका हरेक निकायमा हस्तक्षेप गरेको भनेर अर्को पक्षका कांग्रेसीले असन्तुष्टि पोख्दै आएका छन् । अहिले आएर कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को पुनर्गठन भएको छ । केही दिनअघि विस्तारित भएको नेविसंघको केन्द्रीय समितिको विस्तारको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले देउवालाई समानान्तर समिति बनाउने चेतावनी दिँदै आएका छन् । भर्खरैमात्र नेविसंघको ७ सय १० जना केन्द्रीय सदस्य रहेको समिति विस्तार गरिएको पार्टीले जनाएको थियो । यो समितिमा नपरेकाले देउवा निवास घेरेका थिए । उनीहरुले विस्तारित केन्द्रीय समिति अव्यवहारिक भएको समेत आरोप लगाएका छन् ।

कांग्रेसमा रहेका अनेक प्रकारका गुटले गुटको रक्षा गर्ने प्रयास गरेका छन् । यसको अर्थ पार्टी बनाउनेतिर भनें कसैको ध्यान नै गएको छैन । गुट बलियो बनाएर पार्टीभित्र ‘वार्गेनिङ’ गर्ने उनीहरुको मनाशय रहेको छ । सभापतिमा पराजित भएपछि नेता शेखर कोइरालाले पनि आफू र आफ्नो पक्षलाई देउवाले विभेद गरेको आरोप लगाएका थिए । पार्टीले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएको १६ महिनापछि केन्द्रीय सदस्य विस्तार गरेको हो । शेर्पा अध्यक्ष मात्र थिए, केन्द्रीय समिति नबन्दा नै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइसकेको छ । यतिमात्र होइन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि नेविसंघ परिचालन हुन सकेन । पार्टीले केही दिनअघि नेपाल तरुण दल पनि विस्तार गरेको छ ।