काठमाडौं, ३ भाद्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको कारण लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग रहेको छ तर सरकारका विभिन्न अंगहरुले छानबिन गरिरहेका बेला बेग्लै छानबिन समिति बनाउनु नपर्ने सरकारले भन्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । यही विषयमा छानबिन समिति बनाउनुपर्ने भन्दै एमालेले साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आजदेखि संसदको अवरोध हट्ने बताएका थिए ।