काठमाडौ, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाले प्रदेश स्तरीय सभा गर्ने भएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यही भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालका अनुसार मधेस प्रदेशको वीरगञ्जमा ८ गतेबाट सुरु हुने प्रदेश सभा  भदौ १२ गते लुम्बिनीको बुटवल, भदौ १३ गते सुदूरपश्चिमको धनगढी, भदौ १४ गते कर्णालीको सुर्खेत, भदौ १५ गते गण्डकीको पोखर, भदौ २३ गते बागमतीको हेटौँडा र भदौ २५ गते कोशीको विराटनगरमा घोषणा सभा गरिने छ ।

मोर्चामा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

आजको बैठकले सबै ७ प्रदेशमा मोर्चाका संयोजक तोक्ने तथा सरकारले भ्रष्टचारबिरुद्ध गरेको अभियानलाई समर्थन जनाउने निर्णय लिएको नेकपाका महासचिव चन्दले जानकारी दिएका छन् ।