
काठमाडौं, भदौ ५ । बढाइएको शुल्क फिर्ता नलिए भौतिक आन्दोलन गर्ने इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको अनेरास्ववियू क्रान्तिकारीले चेतावनी दिएको छ । इन्जिनियर अध्ययन संस्थान पुल्चोकले गरेको शुल्कवृद्धिको विरोधमा पुल्चोक क्याम्पसका प्रमुख विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू क्रान्तिकारी) ले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी बढाइएको शुल्क तत्काल फिर्ता लिन माग गरेका हुन् । केही दिनअघि क्याम्पसले शुल्क बढाएको जनाएको थियो । उनीहरुले अप्रत्यासित रुपमा शुल्क बढाउँदा विद्यार्थीहरुको इन्जिनियरिङ पढ्ने सपनामा प्रहार भएको पनि जनाएका छन् । विद्यार्थी संघसंगठनसँग छलफल नै नगरी क्याम्पसले अचानक शुल्क बृद्धि गरेपछि सबै विद्यार्थी संघसंगठन इन्जिनियरिङ अध्ययन संस्थानको विरुद्धमा सामूहिक रुपमा नै उत्रिएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विज्ञप्ती जारी गर्दै शुल्क विवरण कुनै पनि हिसाबले वैज्ञानिक नभएको भन्दै आपत्ति जनाएको छ । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष अविनास विक र सचिव रसिक लम्सालद्धारा हस्ताक्षरित विज्ञप्तीमा शुल्क वृद्धि गर्ने निर्णय फिर्ता नलिए भौतिक आन्दोलनसमेत हुन सक्ने चेतावनी दिइएको छ । उसले इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारीको निजी क्याम्पसमा लगानी भएको आरोपसमेत लगाएको छ ।
नेविसंघका इकाई सभापति सुलभ चापागाइले विज्ञप्ती प्रकाशित गरी सबै विद्यार्थी संघसंगठनलाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आग्रह गर्नुभएको छ ।
नेविसंघका नेता आजदेखि आमरण अनसनमा पनि बसेका छन् ।
अनेरास्ववियूले आजदेखि ५ दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष विशाल घिमिरेले बृद्धि गरिएको शुल्क वृद्धिको निर्णय फिर्ता नहुन्जेलसम्म आन्दोलन नरोकिने बताएका छन् ।
