
काठमाडौं, ८ भदौ । नेकपा एमाले काठमाडौंको सातौं अधिवेशन पौष २३ र २४ गते हुने भएको छ ।
काठमाडौं जिल्ला कमिटीका उप–सचिव तेजप्रसाद ढकालका अनुसार केही दिनअघि बसेको जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो । एमाले काठमाडौंको पाँचौं र छैटौं अधिवेशन पनि पौष २३ र २४ गते नै भएका थिए । केही समयअघि सम्पन्न एमालेको केन्द्रीय समिति बैठकले चैत्र मसान्तभित्रमा वडा तहसम्मको अधिवेशन सक्नुपर्ने निर्णय गरेको थियो । वागमति प्रदेशले असोजको पहिलो साता अधिवेशन गर्ने निर्णय गरिसकेको छ । प्रदेशपछि जिल्ला, पालिकासँगै अन्तिममा वडाको अधिवेशन हुने छ ।
एमालेको जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उप–सचिव रहेको पदाधिकारी हुने छ । एकजना उप–सचिवले आर्थिक कारोबारसम्बन्धी जिम्मेवारी पाउने छन् ।
