काठमाडौं, ९ भदौ । चाँदीझैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जंगलको बाटो हिँड्दा सुनिने चराचुरुंगीका संगीतमय आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । यही सौन्दर्यको आनन्द लिन आउँछन् कञ्चनजंघा क्षेत्रमा बर्सेनि हजारौं विदेशी र स्वदेशी पर्यटक ।

हातमा लठ्ठी र काँधमा क्यामेरा बोकेका विदेशी यहाँका पदमार्गमा भेट्न सकिन्छ । कञ्चनजंघा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण छ । कञ्चनजंघा प्रवेशद्वार घुन्सा क्षेत्रमा गत साता मात्र ८५ जना बाह्य पर्यटक पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०७६र७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । दक्षिण एसियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्यांक छ । २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेका थिए ।

कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंघा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाई मार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुग्न सकिन्छ ।

अष्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजंघा हिमाल क्षेत्रमा चार महिना बिताइन् । कञ्चनजंघा क्षेत्रमा बस्दा मिल्नीले भनेका भनेकी थिइन्, ‘म नेपाल आएको छ पटक भयो । नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवं संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्न आएको छु ।’

कञ्चनजंघा आउने पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानो ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६, ग्याप्लामा सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चालनमा आएको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्का कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । उनका अनुसार अन्य करिब ८० लाखदेखि माथि लगानीमा होटलहरु सञ्चालनमा रहेका छन् ।

ताप्लेजुङको समदरमुकाम फुङलिङ बजारमा समेत पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटलहरु खोलिएका छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजंघा संरक्षण क्षेत्रका समुदायको प्रमुख व्यवसाय भनेकै पर्यटन, होटल र पशुपालन हो । पर्यटकीय क्षेत्र घुन्सा, फले र याम्फुदिन क्षेत्रका प्रत्येक घरपरिवार पर्यटनसँग प्रत्यक्ष जोडिएको परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङ बताउँछन् । केही होटल सञ्चालन गरेर स्वरोजगार बन्दै आएका छन् भने कोही पर्यटकको सहयोगी बनेर राम्रो आयआर्जन गर्दै आएको छ । यी क्षेत्रहरुमा खेतीपाती नहुने भएकाले पछिल्लो समय युवा पुस्ता पशुपालनभन्दा पर्यटन व्यवसयतर्फ नै आकर्षित देखिन्छन् ।

इलाइट एक्सपिडिसन ग्रुपका मिङमा डेभिड शेर्पाका अनुसार कञ्चनजंघा आरोहणका लागि यस याममा ५० भन्दा बढी विदेशीसहित उनीहरुको सहयोगीसमेत गरी करिब तीन सयजना मानिस आधार शिविरमा जम्मा हुनेछन् । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता आधार शिविरमा पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् । कञ्चनजंघा क्षेत्रको घुन्सा आधार शिविरमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेका छन् । पैदलमार्ग खराब भएकाले उहाँहरुका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि शेर्पाले बताए ।

सन् १९५५ मे २५ का दिन पहिलोपटक कञ्चनजंघाको आरोहण भएको थियो । अहिलेसम्म कति आरोहीले कञ्चनजंघा हिमालको सफल आरोहण गरिसकेका छन् भन्ने यकिन तथ्यांक नभएको परिषद्ले जनाएको छ । कोरोना संक्रमणका कारण २०७५ देखि २०७७ सालमा हुन नसकेको कञ्चनजंघामा गत वर्ष आरोहण भएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका थिए भने यो वर्ष पनि त्योभन्दा बढी विदेशी आरोही आउने व्यवसायी बताउँछन् ।

कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मनी, इरान, जापान लगायतबाट पदयात्रा गर्नेहरू चाहिँ घुन्सा पुगिसकेका छन् । दक्षिणी र उत्तरी दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि उत्तरी मोहडाबाट आरोहण गर्न अलि कठिन हुने भएकाले यसपटक कोही पनि आरोही नभएको टाँसीले बताए । सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजंघा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ ।

कञ्चनजंघा क्षेत्रमा ठूलो संख्यामा पर्यटक भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरमा आउने गर्दछन् । कञ्चनजंघा आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने पर्यटन व्यवसायी मिङमा डेभिड बताउँछन् । यहाँ जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्यांक छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि केही पर्यटक आउने गरेका छन् ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भएर पनि यहाँ आउने पर्यटकको संख्या न्यून रहेको छ । यसलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समृद्ध पहाड र परिषद्ले पर्यटनको प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस क्षेत्रहरुमा इन्टरनेट सेवाका लागि वर्ड लिंकको प्राविधिकहरुले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाई सेवा सञ्चालन गर्ने तयारी भएको परियोजनाले जनाएको छ ।

यसका साथै, यस क्षेत्रमा खानेपानी, शौचालय, होटल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापन, पुलपुलेसा निर्माण, हेलिप्याड निर्माण गर्ने बारेमा तयारी थालिएको जनाइएको छ ।