काठमाडौं, १० भदौ । देशभित्रै भएका स्रोत साधनको प्रयोगबाट निर्यातमुखी अर्थतन्त्रको निमार्ण सम्भव भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । सामाजवादी प्रेस संगठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कृषि, विद्युत र पर्यटनको क्षेत्रलाई विकास गर्ने हो भने देश विदेशीहरुमाथि निर्भर हुन नपर्ने भन्दै आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा परिणत गर्न सकिने उल्लेख गरेका छन् ।
उनले भने, ‘देशमा कृषि क्षेत्र अर्थतन्त्रको आधारको रुपमा लिन चहान्छौ । जल विद्युत र पर्यटनलाई नेपालको इन्जिनको रुपमा हेर्न सकिन्छ । विकास गर्नको लागि यी दुई क्षेत्रलाई राम्रोसँग उपयोग गर्न सकियो भने हाम्रो देश विदेशीहरुमाथि निर्भर हुन पर्दैन् । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा परिनत गर्न सकिन्छ । ’
उनले देशका युवाहरु विदेशमा पलायन हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसको लागि सरकारले लिएको नीति राम्रो छ कि छैन् भन्ने बारेपनि ध्यान दिनु आवश्यक भएको बताएका छन् ।
उनले भने, ‘देशका युवाहरु विदेशमा पलायन भईरहेका छन्, हाम्रो देशमा युवाहरुको कमि देखिएको छ । यो विषयमा सरकार नयाँ ढङ्गले अगाडि बढ्नु पर्छ । सरकारले लिएका नीति, काम, जिम्मेवारी पूरा गनरेको छ कि छैन् । भन्ने कुरामा तपाईहरुले ध्यान दिनुपर्छ । नेपाली समाजमा भएको निराशालाई चिरेर युवाहरुलाई शिक्षाको साथ सीपको विकास गर्नुपर्छ । ’समाजवादी शक्तिहरुको माझमा दलालपुँजीवादी शक्ति मुख्य खतराको रुपमा आएको भन्दै यसले देशको अर्थतन्त्रको विकास र सुशासनको निमार्णमा बाधाहरु खडा भएको बताए ।